काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता गोकर्ण विष्टले पार्टीभित्रको समस्या हल गर्नका लागि निष्कर्षमा पुग्न लागेको बताएका छन् ।बुधबार सिंहदरबारमा बसेको एकताका लागि गठित कार्यदलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीभित्र उत्पन्न समस्या हल गर्नका लागि झण्डै–झण्डै निष्कर्षमा पुग्न लागेको उनले बताएका हुन् ।
उनले भने, ‘कार्यदलको तेस्रो बैठक सकियो। झण्डै–झण्डै निष्कर्षमा पुगेका छौं। निष्कर्षमा पुगेसँगै पार्टीलाई पूर्ववत अवस्थामा फर्काएर क्रियाशील बनाउने कुरा छ ।’नेता विष्टका अनुसार कार्यदलको छोटो समयमै बसेको बैठकले पार्टीभित्र देखिएका समस्याको समाधान गर्न लागेको छ । साथै, पार्टीलाई एकतावद्ध बनाउन छलफल सकारात्मक रहेको उनको भनाइ छ।
नेपाल समूहको यसअघिको २०७५ जेठ २ कै संरचनाअनुसार पार्टीलार्य फर्काउन राख्दै आएको अडानमा पनि सहमति हुन लागेको उनले बताएका छन् । उनका अनुसार पार्टीलाई पूर्ववत अवस्थामा फर्काएर क्रियाशील बनाउने सहमति भएको छ ।
यसैगरी माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेतालाई पनि व्यवस्थापन गर्ने छलफल भएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !