काठमाडौं । जातीय छुवाछुत तथा भेदभावको गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतबाट छुटाउन ‘भूमिका खेलेको’ प्रकरणमा सर्वोच्च अदालतले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अदालतमा उपस्थित हुन भनेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बुधबारको एकल इजलासले मन्त्री श्रेष्ठलाई असार २९ गते अदालत (सर्वोच्च)मा उपस्थित हुन भनेको हो।
रेग्मीको इजलासले कसरी अनुसन्धान अघि बढिरहेको छ भनेर विपक्षीहरु समेतको सहभागितामा छलफल गरी अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निर्णय गर्नुपर्ने हुँदा सो प्रयोजनका लागि असार २९ को पेसी तोकी विपक्षीहरुलाई सूचना दिनू भन्ने आदेश जारी गरेको हो। रुपा सुनारलाई जातका आधारमा कोठा भाडामा नदिएछि चर्किएको यो घटनामा मन्त्री श्रेष्ठ एकाएक मुछिन पुगेका थिए ।
सिंहदरबारको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्दा मन्त्री श्रेष्ठले फिल्मी शैलीमा घरबेटी प्रधानलाई सरकारी गाडीमा घर लिएर गएका थिए ।जातीय विभेद गरेको भनि घरबेटीमाथि सबै खनिरहेको अवस्था मन्त्री श्रेष्ठको प्रवेशले झनै तरंग पैदा गर्यो । पछि मन्त्री श्रेष्ठले आफूले अब आइन्दा त्यस्तो काम नगर्ने भनेर क्षमायाचना पनि गरे ।
तर, रुपा सुनारले जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै न्यायका लागि सर्वाेच्चमा मन्त्री श्रेष्ठ र घरबेटीविरुद्ध मुद्धा दायर गरेकी थिइन् । उनले दायर गरेको मुद्धामा मन्त्री श्रेष्ठको बर्खास्ती र घरबेटीलाई कारबाहीको माग गरिएको छ ।

















