काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारी युनियनले महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला प्रहरिले खोलेको छ ।सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारीले शुक्रबारदेखि आन्दोलन शुरु गरेका थिए ।
उनीहरुले महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा ताला लगाएका थिए । तर मंगलबार प्रहरीले ताला खोलेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।ताला खोल्ने क्रममा प्रहरी र कर्मचारीबीच केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो ।
निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनु पर्ने माग सहित विरोधमा उत्रिएका छन् ।सरकारले आगामी आवको बजेटमा निगमको संस्थापक सुदृढीकरणका लागि रणनीतिक साझेदार ल्याउने नीति लिएको छ ।

