काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगञ्जले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी ५० वर्षीय शिशिर शम्शेर जबरालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका जबरालाई ब्यूरोको टोलीले सोमबार प्रहरीले पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख रुपियाँ जरिवाना ठहर भई फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो ।
पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्याएर नविल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपियाँ बराबरको चेक काटी दिएको थिए ।
बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !