काठमाडौं । छोरी ज्वाइँलाई छोरो बनाएर किर्ते गरी नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का, सोही वडाका भिमबहादुर कामी र उनकी छोरी सुशीला विक छन् ।
उनीहरु तीनै जनालाई आइतबार अपराह्न नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासले जानकारी दिए । स्थानीयले किर्ते नागरिकताबारे उजुरी गरेपछि अनुसन्धान गर्दा भिमबहादुर कामीले छोरी ज्वाइँ अर्जुन विकलाई आफ्नो दिवंगत छोरो लिलाराम विकको नामबाट नागरिकता दिलाएको खुलेको खवासले जानकारी दिए ।
२०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा खवासकै हस्ताक्षर छ ।‘कागजपत्र हेर्दा शंका गर्ने ठाउँ कतै देखिँदैन,’ खवासले भने, ‘स्थानीयले तीन दिन अगाडि उजुरी गरेपछि बुझ्दै जाँदा त ज्वाइँलाई छोरो भनेर नागरिकता दिलाउन सिफारिस गरेको पाइयो ।’ यसरी नागरिकता लिएपछि अर्जुन र सुशीला श्रीमान–श्रीमती भए पनि कागजपत्रमा उनीहरु दाजु–बहिनी बनेको पाइएको छ ।
यो काममा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको खवासले बताए ।
नागरिकता सिफारिस गरेकाले वडाध्यक्ष खड्कालाई पनि नियन्त्रणमा लिइएको र उनले गल्ती स्वीकार गरेको खवासले बताए । किर्ते नागरिकतामा लिलाराम विक नाम राखेका अर्जुन विक हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको भनेर सुशीलाले बताएको उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !