काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीपक भट्टराईलाई रेल विभागको महानिर्देशकमा नियुक्त गरेको छ। आइबारको मन्त्रिस्तरीय निर्णयले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो। आइतबार नै उनले पदभार ग्रहण गरेका छन्। यसअघि उनी मन्त्रालयको योजनामा महाशाखाका प्रमुख थिए।
विभागकी महानिर्देशक प्रमिला बज्राचार्य बढुवा भएर खानेपानी मन्त्रालयको सचिव भएपछि भट्टराईलाई रेल विभाग पठाइएको हो।भट्टराई २०४७ सालमा सडक विभागको सहायक इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनले क्षेत्रीय सडक कार्यालय पोखराबाट काम सुरु गरेका हुन्।
त्यसपछि पाल्पा-तानसेन सडक योजना, बुटवल डिभिजनमा चार वर्ष, उद्योग मन्त्रालय मातहतको सुक्खा बन्दरगाह विकासका लागि इन्जिनियरको रुपमा वीरगंज,भैरहवा र विराटनगरमा गरी सात वर्ष काम गरेका छन्। विशेष आर्थिक क्षेत्रमा समेत केही समय काम गरेको अनुभव उनीसँग छ।२०६४ सालमा उनी उपसचिवमा बढुवा भएका थिए। त्यसपछि महेन्द्रनगरमा साढे दुई वर्ष,ओखलढुङ्गा-सल्लेरी सडक योजनामा एक वर्ष, पूर्वको रानी-विराटनगर सडक योजनामा पनि काम गरे।२०७४ सालमा सहसचिवमा बढुवा भएका भट्टराईले निमित्त क्षेत्रीय निर्देशकको भूमिका पनि निर्वाह गरिसकेका छन्।
दुई वर्ष सडक विभागको पुल महाशाखा प्रमुख भएर काम गरेको अनुभव उनीसँग छ। साढे पाँच महिना पहिले मन्त्रालयको योजनामा महाशाखामा सरुवा भएका थिए। रेल विभागले अहिले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग, चीन र भारत दुवैतिर काठमाडौंलाई जोड्ने रेलमार्ग, उपत्यकामा मेट्रो,जयनगर- जनकपुर-बर्दिवास रेलमार्ग निर्माण लगायत सरकारी प्राथामिकताका योजनाको नेतृत्व गरिरहेको छ। भट्टराईले सरकारका यिनै योजनाहरुलाई मूर्त रुप दिनेगरी काम गर्ने बताए।

















