रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३१ वर्षीय पेमा डिम्डुङ परिवारको २८ वटा चौँरी छन् । उनले एक हप्ताअघि लौरीविना भन्ने जँगलमा रहेको चौँरीगोठ लगे ।चौँरीगोठमा पेमासहित उनकी श्रीमती बिबिरानी तामाङ र नौ वर्षका छोरा पनि गए । ३२ वर्षीया बिबिरानी गर्भवती थिइन्, तर श्रीमानलाई सघाउन हुन्छ भनेर चौँरीगोठ गएकी थिइन् ।
तर मंगलबार उनी केही अस्वस्थ भइन् ।दिदी अस्वस्थ भएको खबर पाएपछि भाइ रेञ्जेन दिदी–भिनाजुको चौँरीगोठ पुगे । दिदीलाई सुत्केरी व्यथाले च्यापेको रहेछ । नर्मल डेलिभरी होला भन्ने अपेक्षा थियो । तर प्रसव पीडाले गाह्रो भएपछि रेञ्जेन झण्डै चारघण्टा हिँडेर चन्दनबारीस्थित नेपाली सेनाको पोष्टमा आए र सैनिक अधिकारीसँग सहयोगको याचना गरे ।नेपाली सेना उद्धार गर्न तयार भयो ।
स्ट्रेचर र प्लास्टिक बोकेर नेपाली सेनाको टोली चौँरीगोठ पुग्दा पानी दर्किरहेको थियो भने बिबिरानी सुत्केरी व्यथाले छट्पटाइरहेकी थिइन् । ‘चिसोबाट बचाउन दिदीलाई कम्बल ओढायौं, बाहिरबाट सेतो प्लास्टिकले बेर्यौं,’ रेञ्जेनले भने, ‘अनि दिदीलाई स्ट्रेचरमा राखेर धुञ्चेतर्फ झर्यौं । अँधेरी रात भएकाले टर्चको सहायताले बाटो पहिल्याउँदै अघि बढ्यौं ।’
त्यो कहाली लाग्दो रात सम्झँदै रेञ्जेन भन्छन्, ‘स्ट्रेचरबाट दिदीले मलाई बचाऊ भनिरहनु भएको थियो । भारी वर्षा र साँघुरो गोरेटोमा हिँड्न त्यति सहज थिएन ।’
रातभरको त्यो कष्टकर हिँडाइपछि बिहान करिब सात बजेतिर जिल्ला अस्पताल धुञ्चे आइपुगेको उनी बताउँछन् । अस्पताल आइपुगेको झण्डै आधा/एक घण्टाको बीचमा बिबिरानीले सकुशल बच्चा जन्माएको रेञ्जेन बताउँछन् ।‘नेपाली सेनाको टोलीले सहयोग नगरेको भए सायद मेरो दिदी यो संसारमा… ’ रेञ्जेन भावुक भए ।

















