धनगढी । प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेलले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। सरुवा भएर बिहिवार मात्रै धनगढी पुगेका डिआइजी कँडेलले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलमा कार्यरत डिआइजी उत्तमराज सुवेदीको केहि दिनअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेपछि उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत एंव प्रशासन विभागबाट कँडेललाई सुदूरपश्चिम प्रदेश पठाइएको हो।
धनगढी पुगेका डिआइजी कँडेलले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा केन्द्रित हुने बताएका छन्। ‘निर्मलाको बलात्कार र हत्या जघन्य अपराध हो,’ डिआइजी कँडेलले दिनेश खवरसंग भने, ‘उक्त प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको छ। नेपाल प्रहरीको प्राथमिकतामै परेको घटना हो। नतिजा आउन समय लागेको मात्रै हो।’
उनले जघन्य अपराधको अनुसन्धानमा लामो समय पनि लाग्न सक्ने बताउँदै हरेक कोणबाट फेरि पनि अनुसन्धान हुने बताए। अपराध अनुसन्धान भनेको भौतिक निर्माण जस्तो हुँदैन्। भौतिक निर्माणमा यति प्रतिशत प्रगती भयो भन्न सकिन्छ। तर अपराध अनुसन्धानमा नतिजा आएपछि मात्रै शत प्रतिशत प्रगती देखिन्छ। नभए शून्य प्रतिशत नै हो,’ कँडेलले भने।
२०७५ साउनमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साउन १० गते महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।
स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको लापरवाही गरेको भन्दै आन्दोलन नै गरेका थिए। प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि एक युवकको समेत मृत्यु भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !