काठमाडौं । निर्वाचन आयोगले मेल मिलापको अन्तिम प्रयासस्वरुप बोलाएपनि जनता समाजवादी पार्टी (जसपा) नेकपाकै बाटोमा लाग्ने देखिएको छ ।सहमतिको लागि भन्दै दुबै पक्षलाई असार २२ गते बोलाएको आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिको आह्वान गर्दैछ । त्यो दिन आयोगमा उपस्थित नभए आयोगले जसको दाबी पुग्छ उसैलाई आधिकारिकता दिनेछ ।
महन्थको प्रस्तावः अब आफ्नो आफ्नो बाटो लागौं
जसपाको ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवसँग काम गर्न नसकिने भएकाले पार्टीमा किचकिच गर्नुभन्दा राम्रोसँग सल्लाह गरेर अलग हुन उपयुक्त हुने अधिकांशको सदस्यको धारणा रहेको ती नेताले जानकारी दिए । जसलाई जता मन लाग्छ, उता जान स्वतन्त्र छाडिदिनु पर्ने विषयमा पनि छलफलमा कुरा उठेको उनको भनाइ छ ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षसँग जवाफ मागेको थियो ।
कुनै पनि पार्टीको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी विवाद भए, दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए दाबी गर्ने पक्षले विवाद निरुपणको लागि आयोगसमक्ष निवेदन दिन सकिने व्यवस्था ४४(१) मा छ ।
पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नुपर्ने व्यवस्था पनि पनि ४४ (१) मै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !