काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी बनाएकी जाहेरीकर्ताले नै प्रतिवादीका पक्षमा बकपत्र गरेपछि उनी बिरुद्ध बुधबार भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । आयोगमा घूस रिसवत मागेको निवेदन दिने सोभिता साहले विशेष अदालतमा बकपत्रगर्दा रंगेहात घूस सहित समातिएका प्रहरी सहायक निरीक्षक (असई) रामविश्वास राय यादवको बचाउ गरेकी हुन् ।
प्रहरी चौकी गौरीशंकर सर्लाहीमा कार्यरत रहेका राय यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ लिँदैगर्दा नियन्त्रणमा लिएको थियो । आयोगको बर्दिबासको टोलीले बुधबार मुद्धा दर्ता गरेकी साहकै सूचना र सहयोगमा यो कारबाही चलाएको थियो । आयोगले असई राय यादव बिरुद्ध १४ साउन २०७७ मा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको थियो ।
मुद्धाको कानूनी उपचारकाक्रममा आयोगले साक्षी बनाएकी साहले सहयोग प्रतिकुल हुने गरी वकपत्र गरेको सप्रमाण पुष्टि हुन आएकोले मुद्धा दर्ता गरेको प्रवक्ता नारायणप्रसाद रिमालले बताए ।
उनका अनुसार साह बिरुद्ध घुस दिने कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले उनी बिरुद्ध समेत बरामद रकम बराबरको बिगो मागदाबी गर्दै मुद्धा दर्ता भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !