काठमाडौं। भोटेकोशीले बगाएको ५० मिटर सडक बनाउन नसक्दा चीनसँगको व्यापारिक नाका तातोपानी पुग्ने सडक कहिले खुल्छ अनिश्चित भएको छ। सडक विभागले तत्कालै केही गर्न नसक्ने भन्दै हात उठाएपछि अनिश्चित भएको हो।बाढीपहिरोले उक्त खण्डमा सडक भत्काएको र बगाएको दुई साता हुन लागेको छ। विभागले तत्कालै केही गर्न नसक्ने भन्दै सम्बद्ध अधिकारीहरु चुप लागेर बसेका छन्।
भोटेकोशीले बगाएको ५० मिटर सडक बनाउन नसक्दा करोडौं रुपैयाँ बराबरका सामान तातोपानी भन्सारमा अड्किएको छ। सडक बनाउन नसक्दा व्यवसायीहरुले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्रीहरु तुइनमा तारेर ल्याइरहेका छन्। अरु सामान भन्सारमा नै थन्किएको छ। नेपाल-चीन मितेरी पुलबाट करिब एक किलोमिटरमा पर्ने ओडारेमा भोटेकोशीले ५० मिटर सडक बगाएको छ।
असार १ पछि आएको बाढीले करिब ५० मिटर सडक ‘वास आउट’ गरेको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ। प्रमुख व्यापारिक नाका पुग्ने सडक दुई सातादेखि अवरुद्ध छ । सडक खुल्ने अनिश्चित भएपछि उत्तरी नाकाबाट आयातनिर्यात ठप्प भएको छ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नदीले कटान गरिरहेको र माथितिर बस्ती भएकाले सडक निर्माण गर्न सक्ने अवस्था नै नरहेको बताए। उनका अनुसार सडक विभागसँग दुई विकल्प छन्- ‘गाउँ नै सारेर काम गर्नु की चुप लागेर बस्नु।’ अहिले पनि भोटेकोशी बढेर आएकाले राजमार्गका बिभिन्न भाग कटान भइरहेको छ। मंगलबारबाट खोलामा ठुला ठुला २/३ टनका ढुंगाहरु हालेर कटान रोक्न लागिएको छ। ‘खोलाको कटान रोक्न सकिएको खण्डमा चार/पाँच दिनमा सडक खोल्न सकिन्छ ।
विभागका अनुसार यो खण्ड मर्मत सम्भारका लागि गत वैशाखमा चिनियाँ पक्षलाइ हस्तान्तरण गरिएको थियो। भूकम्प र गत वर्ष भोटेकोशीले पुर्याएको क्षतिका कारण धेरै स्थानहरु जोखिममा परेपछि छिटो र बलियो हुनेगरी काम गर्ने भन्दै मर्मत सम्भार जिम्मा दिइएको थियो। चिनियाँले काम सुरु गरे पनि नदीबाट बालुवा र गिटी निकालेर मर्मत गर्दा शुल्क मागे पछि कामै रोकियो।
उनीहरुलाई विभिन्न जोखिमयुक्त १६ वटा प्वाइन्ट मर्मतका लागि दिइएको थियो। करिब ३२ सय मिटर सडक दिइएको हो। केही काम भएपछि बर्खा लागेको भन्दै उनीहरुले काम रोके। साइटमा क्याम्प राखेर बसेका उनीहरुले बर्खाअघि काम गर्न नसकिने भन्दै काम रोकेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !