विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो ।
करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ । तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन् । कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ ।
काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ । तर आवास र कार्यालय प्रयोजनका लागि भन्दै महँगोमा घर भाडा लिइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको हो ।
कार्यालयमा मुख्यमन्त्री शेरधन राई कहिलेकाहीं मात्रै पुग्ने गरेको मन्त्रालय स्रोत बताउँछ । ‘मुख्यमन्त्री काठमाडौं जाँदा कहिलेकाहीं कार्यालयमा निस्कनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘मासिक साढे ३ लाख भाडा र दुई जना कर्मचारी छन्, उपलब्धि भने केही छैन, खर्च मात्रै बढिरहेको छ ।’ सम्पर्क कार्यालयमा रहेको छैटौं स्तरको दरबन्दी भने खाली छ ।
यता मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले काठमाडौंमा हुँदा मुख्यमन्त्रीको भेटघाट सम्पर्क कार्यालयमा हुने गरेको बताए । ‘काठमाडौं जाँदा मुख्यमन्त्री र मन्त्रीहरु कार्यालयमा पुग्नुहुन्छ,’ उनले भने, ‘कार्यालय भेटघाटका लागि प्रयोग हुन्छ ।’ विराटनगरमा मुख्यमन्त्री शेरधन राईको निवास पनि भाडामा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !