काठमाडौं । तराई क्षेत्रमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष ९२ वर्षीय जयकृष्ण गोइतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत सिराहाले सोमबार गोइत र उनकै समूहका रामविलास यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीको विभिन्न अनुसन्धान प्रतिवेदन र विकास कुमार सरडाले विभिन्न स्थानमा बम विस्फोटमा संलग्न भएको भनी दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत सिराहाले जनाएको छ । बाटोको म्यादबाहेक ३५ दिनभित्र अदालतमा आफैं वा पक्राउ भएर उपस्थित हुन भनेको छ ।
अन्यथा कुनै उजुरबाजुर नलाग्ने अदालतले प्रष्ट पारेको छ ।त्यसैगरी सिराहा जिल्ला अदालतबाटै २१ दिने समाह्वान म्याद पनि जारी भएको छ । भूमिगत गोइत हाल भारतमा रहेको आशंका गरिँदै आएको छ ।
गोइत नेतृत्वको समूहले तराई–मधेस क्षेत्रमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।
पृथकतावादी समूह सीके राउतलगायतलाई मूलधारको राजनीतिमा ल्याए पनि सरकारले यो समूहलाई भने शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन ठोस पहल गरेको छैन ।

















