वीरगंज । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि साढे ३ अर्ब रुपैयाँ भन्दा बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
वीरगञ्जमा आयोजित नवौं नगरसभामा उपप्रमुख एंव राजश्व परामर्श समितिकी संयोजक शान्ति कार्कीले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्ज महानगरपालिकाले पुनः तेश्रो लहरको कोरोना संक्रमण आउनसक्ने सम्भावनालाई मध्यनजर गरी स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याइएको हो ।
विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय रुपैयाँ अर्थात् ५२.४४ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय रुपैयाँ अर्थात् ४५.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार रुपैयाँ अर्थात् १.८८ प्रतिशत खर्च हुने अनुमान महानगरको छ ।
बजेटमा सबै भन्दा बढी पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार अर्थात् ३८.१७ प्रतिशत विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार अर्थात् ३२.५१, कार्यालय संचालनतर्फ ८० करोड ७३ लाख ४३ हजार रुपैयाँ अर्थात् २२.७३ प्रतिशत महानगरले विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार रुपैयाँ अर्थात् २.८४ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्रतर्फ (वन, वातावरण तथा विपद् समेतमा गरी) १३ करोड ३२ लाख ७४ हजार रुपैयाँ अर्थात् ३.७५ प्रतिशत र खर्च हुने अनुमान महानगरको छ ।
बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरका प्रमुख विजय सरावगीले महानगरले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा,कोभिड महमारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
कोभिडलाई नै लक्षित गरि चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेटमा डेढ करोड बढी रकम अर्थात स्वास्थ्य क्षेत्रका लागि मात्रै २१ करोड ३० लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको बताए । यदि महामारी रोकथाम र नियन्त्रणका लागि बजेट अपुग भयो भने विकास निर्माण तर्फको बजेट समेत कटौती गरेर महामारीको विपद व्यवस्थापनमा खर्च गर्ने निर्णय नगरसभाबाट पारित गरिने उनको भनाइ छ ।
महानगरले कोभिड संक्रमितको उपचारका लागि आफ्नै सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्ने कार्यक्रम पनि ल्याएको उनले बताए । तेस्रो लहरको संक्रमणमा सबै भन्दा बढी बालबालिका जोखिममा पर्ने भनिएकाले हरेक अस्पतालमा कोभिड संक्रमित बालबालिकाको उपचारका लागि कम्तिमा २० शैयाको व्यवस्थापन अहिले देखि नै शुरु गरिने उनको भनाइ छ ।
वीरगञ्ज महानगरले चालू आर्थिक वर्षको आयतर्फ संघीय सरकारबाट वित्तीय समानिकरणमा ४२ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म ३२ करोड १६ लाख रुपैया मात्र प्राप्त भएको छ । यस्तै ससर्ततर्फ ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएकोमा अहिलेसम्म ६४ करोड ९४ लाख ५१ हजार रुपैयाँ मात्र प्राप्त भएको एवं राजश्व बाँडफाँड तर्फ २३ करोड ४२ लाख ६७ हजार रुपैयाँ मात्र संघीय सरकारबाट प्राप्त भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !