वीरगन्ज । वीरगन्ज गण्डकस्थित सञ्चालित नारायणी वयोधा अस्पतालले सञ्चालनको अनुमति नलिएको भन्दै गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालमा अनुगमन गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा वाणिज्य कार्यालय तथा उपभोक्ता समितिका पदाधिकारी लगायतको संयुक्त टोलीले अस्पतालमा अनुगमन गर्नुको साथै अस्पतालको कागजातहरु समेत चेकजाँच गरेको छ ।
अस्पतामा कार्यरत चिकित्सकहरुले नै अनुमति विना अस्पताल संचालन रहेको गुनासो गरेपछि प्रशासनको टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा अस्पतालले भवन निर्माणको लागि अनुमति लिएको, वातावरणमा कुनै असर नपर्ने भनेर अनुमति लिएको तर सञ्चालनको लागि अनुमति पत्रको कागजात फेला नपरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
उनका अनुसार अस्पताल सञ्चालनको लागि अनुमति पत्र नै नलिई विगत दुई वर्षदेखि अस्पताल संचालन रहेको गुनासो आएपछि अस्पतालमा अनुगमन गरिएको बताए । अनुगमनको क्रममा सबै कागजातहरु रहेको तर संचालन अनुमति पत्र स्वास्थ्य मन्त्रालयसँग लिन प्रक्रियामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको बताए ।‘अहिलेसम्म हामीले सम्पूर्ण कागजात हेर्यौं, सब ठीक छ, तर संचालन अनुमति पत्र प्रक्रियामा रहेको पायौं,’ प्रशासनका एकजना कर्मचारीले भने, ‘एक दुई दिनभित्र संचालन अनुमति पत्र पनि ल्याउने आश्वासन दिएका छन् ।’ यदि ल्याएनन् भने कारवाही प्रक्रियामा अगाडि बढ्ने उनको भनाई छ ।
शहरी विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि बनाइएको भवन मापदण्ड अनुरुप रहेको वा नरहेको सम्बन्धमा सिफारिस गर्नुपर्नेछ, तर हालसम्म ‘नारायणी वयोधा अस्पिटल’को संरचना मापदण्ड अनुरुप नभएको कोरण सिफारिस गरेको छैन ।नारायणी वयोधा हस्पिटल प्रालिद्वारा सञ्चालित सो अस्पतालले हेलिप्याड बनाएको भएतापनि ‘एरोड्रम अथोरिटी’ले अनुमति नदिएको कारण हालसम्म कुनै पनि हेलिकप्टर त्यहाँ अवतरण भएको छैन ।
यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र प्रधानले पनि ‘नारयणी वयोधा अस्पताल’ले सञ्चालनको अनुमति नपाएको कागजातले पुष्टि गरेको बताएका छन् ।त्यस्तै, अस्पतालका सञ्चालक अशोक वैद्यले समेत अस्पताल सञ्चालनको अनुमति प्रक्रियामा रहेको बताउदै विस्तृत जानकारीका लागि सीडीओ कार्यालयमा सम्पर्क गर्न भनेका छन् । सञ्चालक बैद्यको भनाइ अनुसार पनि ‘नारायणी वयोधा अस्पताल’ गैर कानूनी रुपमा सञ्चालनमा रहेको थप पुष्टि भएको छ ।तर, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने यसबारे नोटिस आफूलाई नभएको बताएका छन् । साथै उनले मन्त्रालयसँग सोधेर जवाफ फर्काउने बताएका छन् ।
यसरी अस्पताल सञ्चालनको अनुमति नै नपाएको नारायणी वयोधा अस्पिटलमा उपचारका क्रममा १६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । अनुमति नै नपाएको अस्पतालमा कुनै पनि नागरिकको मृत्यु भएको खण्डमा ज्यान मुद्दा लाग्ने अधिवक्ताहरुको भनाइ छ ।के अब गैर कानूनी रुपमा सञ्चालनमा रहेको नारायणी वयोधा अस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका १६ जनाले न्याय पाउलान् त ? अहिले यो जनचासोको विषय बनेको छ ।त्यसोत, ‘मल्टी स्पेसलिस्ट’ डाक्टरहरुको टिमले सञ्चालनमा ल्याएका ‘नारायणी वयोधा अस्पताल’को लापरवाहीका कारण कोरोना संक्रमितको ज्यान जानुका साथै पाँच जना चिकित्सकहरुमा पनि संक्रमण पुष्टि भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !