काठमाडौं । साउदी अरबको दमामसम्म नियमित उडानमार्फत एकतर्फी भाडादर ३५ देखि ४० हजारको हाराहारी हो । महामारीमा सीमित उडानको मौका छोप्दै ट्राभल एजेन्टहरुले दोब्बर बढी रकम उठाउने गरेको भेटिएको छ । ६ वर्षदेखि साउदी अरबमा इलेक्ट्रोनिकल इन्जिनियरको रुपमा काम गर्दै आएका कमलदेव साहलाई काठमाडौंको गौशाला स्थित रस्बिता इन्टरनेसनल ट्राभल एण्ड टुर नामक ट्राभल एजेन्सीले दुइलाख सात हजार रुपैया असुलेको छ।
जानैपर्ने बाध्यताको मौका छोपेर ट्राभल एजेन्सीले पनि चार्टड प्लेनका नाममा लुट मच्चाएका छन् । यस्तै सिरहाका श्याम कुमार महतोले पनि सोही ट्राभल एजेन्टसँग भाडा बारे बुझ्दा उनलाई २ लाख १५ हजार रुपैयाँ लाग्ने बताइएको थियो । सोहीकारण उनले तत्काल साउदी अरब फर्किने योजना ने रद्द गर्नुपर्यो । साउदी अरब सरकारले जारी गरेको ट्राभलर एडभईजारी प्रोटोकल अनुसार त्यहाँ पुगेपछि अनिवार्य सात दिनको होटेल क्वारनटीन बस्नुपर्छ ।
जसका लागि २६६० साउदी रियाल अर्थात करिब ८० हजार नेपाली रुपैयाँ अर्को तिर्नुपर्ने छ । यसका लागि पनि ट्राभल एजेन्सीहरुले एक लाख ७ हजारसम्म रकम असुलेको भेटिएको छ ।
फिलिपिन्सले साउदीमा रहेका आफ्ना नागरिकको बिमा र होटल क्वारेण्टाईनको खर्च साउदी सरकार र रोजगारदातालाई नै तिर्न, ब्यहोर्न सहमति गराएको छ ।
बंगलादेशले पनि आफ्ना नागरिकलाई आफ्नै देशमा क्वारेण्टाइनमा राखि पठाउँछौं, साउदी पुगेपछिको क्वारेण्टाइन छुट देउ भनी बिदेश मन्त्रीस्तरमा कुटनैतिक पहल गरेको छ ।
