काठमाडौँ । ‘सामाजिक अभियन्ता’ भन्नेहरुको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ ।
आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै दुर्व्यवहार खेपे लगत्तै सरुवा गरिएका असई मणिकान्तलाई फेरि महाराजगञ्जमै फिर्ता गरिएको हो ।
मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानामा तानिएको थियो । काज फिर्ता भएपछि उनी बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन् ।
गत जेठ ११ गते ड्युटीमा खटिएका मणिकान्तसहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेर नियमअनुसार होल्ड गराएका थिए।
सामान्य विवाद भएपछि उनीहरुले असई मणिकान्तले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि उनकै कार्यालय महाराजगञ्ज पुगेका संग्रौलासहितको टोलीले असई झामाथि दुर्व्यवहार गर्दै सञ्चारकर्मीसमेत बोलाएर भिडियो खिच्न लगाएका थिए ।
उक्त भिडियो केही दिनअघि ‘भाइरल’ भयो । भिडियोमा देखिएअनुसार संग्रौलासहितको टोलीले ‘झा‘ मधेशी‘ अब मधेशतिरै गएर खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन‘ जस्ता नश्लीय शब्दसहित दुर्व्यवहार गरेका थिए।
