सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए ।
त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।मेलम्ची नगरपालिका हेलम्बु–१ स्थित नाकोटे मंगलबार राति पहिरो गएको छ । पहिरोले मेलम्चीको खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् ।बेलुकी साढे ६ बजे ठूलो पहिरो गएको बताइएको छ । आज नै मेलम्ची आयोजनाको सुरुङको पानी खोलामा छोडिएकोले उर्लेर आएको पहिरोले के कति धन जनको क्षति भयो विस्तृत जानकारी आइसकेको छैन ।
साथै, पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे÷नपुगेको पनि एकिन हुन सकेको छैन ।राति पहिरो आएकोले प्रहरीलाई खबर गर्न पनि नसकिएको बताइएको छ । पहिरोका कारण स्थानीयहरु कता कता भागे भनेर यकिन गर्न पनि गाह्रा भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !