काठमाडौं ।यो फेसबुक प्रोफाइल हेरेपछि धेरैलाई लाग्न सक्छ उनी कुनै मेडिकल फिल्डका मान्छे होलान । नाम अघि डाक्टर छ । टाइम लाइनमा चिकित्सासँग जोडिएका विषयवस्तु पोष्ट भएका छन् । प्रोफाइलमा डाक्टर एसके ढुङगाना लेख्ने उनले प्रहरी पोशाकका तस्बिर राखेका छन् । प्रहरी समेत उनको फेसबुक साथी छन् ।
तर, नझुक्किनुहोस, आफुलाई मेडिकल डाइरेक्टर डाक्टर एसके ढुङगाना बताउने यी ब्यक्ति पक्राउ परेपछि उनको रहस्य पर्दाफास भएको छ । महानगरीय अपराध महाशाखाले एसके भन्ने छद्म नाम भएका कृष्ण प्रसाद ढुङ्गानालाई पक्राउ गरेको छ । महाशाखामा उनी बिरुद्ध सामाजिक सञ्जाल मार्फत हुँदै नभएको ओहदा राखेर भ्रम सृजना गरेको उजुरीपछि सोमबार पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो । एसपी कोइरालाका अनुसार उनले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएका थिए । यस्तै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको भेटिएको छ।
महाशाखाले उनका साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको पोशाक लगाएका लगाएका ३ थान तस्बिर, प्रहरी नायब उपरीक्षकको पोशाक र नेपाल प्रहरीको जर्सि बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !