कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का जिल्ला नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीले गराएको खुलेको छ । २५ दिन लामो प्रहरी अनुसन्धानबाट दीपकको हत्यामा उनकै श्रीमतीसहितको योजनावद्ध संलग्नता रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागि घाइते पाण्डेयको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए ।
ओमप्रकाश र महिमाबीचको अनैतिक सम्बन्ध दीपकले चाल पाएपछि उनको हत्या योजना बनेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । एसपी अधिकारीले भने, ‘हत्या योजना २-३ वर्षअघि नै बनेको देखिन्छ । उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ । लामो समयपछि उनीहरुले आफ्नो योजना सफल बनाएको देखियो ।’
अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेका थिए । दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोली समेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा संलग्न सात जनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ । उनका अनुसार ओमप्रकाशले हत्याको योजना बनाएको, हतियार खरिद गरेको र आफ्नै उपस्थितिमा मार्न लगाएको खुलेको छ ।
रमजानले भने पाण्डेयलाई मार्नका लागि पटक-पटक ओमप्रकाशबाट एक लाख लिएको खुलेको छ । उनले नै पाण्डेयमाथि तीन राउण्ड गोली प्रहार गरेको खुलेको हो । साकिरले पाण्डेयलाई मार्न ओमप्रकाशबाट बैना रकम लिने, मृतकका गतिविधिमा निगरानी राख्ने, घटनामा प्रयोग भएको हतियार पूर्णवीर पाल्पालीको घरमा लुकाएर राख्ने गरेको पाइएको एसपी अधिकारीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !