सुनसरी । चाइनिज स्याउ भारतीय क्षेत्रमा पक्राउ परेसँगै नेपाली सीमा क्षेत्रमा कार्यरत ४ दर्जन बढी सुरक्षाकर्मी अनुसन्धानको दायरामा तानिएका छन् । आज विहान भारतको बिरपुर खण्डमा ३ वटा नेपाली नम्बर प्लेटका ट्रक चाइनिज स्याउ सहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । सोही स्याउ तस्करीको क्रममा नेपाल तर्फको भूमि प्रयोग भएको प्रारम्भिक सूचनाका आधारमा मातहतका सुरक्षाकर्मी अनुसन्धानमा तानिएका हुन् ।
जस अनुसार प्राप्त जानकारी अनुसार नेपाल प्रहरीका ३४ र सशस्त्र तर्फका १५ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले श्रीपुर, हरिपुर र भाण्टावारी नाकामा खटिदै आएको प्रहरी टोलीलाई जिल्ला तानिएको जनाएको छ । प्रहरी प्रमुख एसपी कमल थापाले श्रीपुर र हरिपुरमा रहेको असई नेतृत्वको १४ जनालाई छानविन तथा अनुसन्धानको लागि दुहवी गणमा पुर्याइएको बताए ।
त्यसैगरी थापाले सइको कमाण्डमा रहेको सीमा प्रहरी चौकी भाण्टाबारीको २० जनाको टोलीलाई समेत अनुसन्धानको लागि तानिएको जानकारी दिए । प्रहरी प्रमुख थापाले अनुसन्धानकालागि प्रहरी तानिएका चौकीहरुमा जिल्ला र रानी गणबाट जनशक्ति ल्याई ड्यूटीमा खटाइएको बताए । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) माधव प्रसाद पौडेलले तस्करीको विषय सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिए ।
पौडेलले कुन क्षेत्रबाट ट्रक गएको भन्ने विषय नखुलेपनि बिरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले कोशीलाइ, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्यूटीमा रहेका १५ जनालाई फिर्ता बोलाइएको बताए । सशस्त्र एसपी पौडेलले बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान थालिएको बताए ।
यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनालाई गम्भिर रुपमा लिएको बताए । उनले सुरक्षा कमजोरी पत्ता लगाई दोषी उपर कार्वाहीको प्रकृया चाल्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको बताए ।
चाइनिज स्याउ लोड गरिएका ३ वटा ट्रक भारत बिरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आज बिहान नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार १३ सयभन्दा बढी कार्टुन चाइनिज स्याउसहित आठजना व्यक्ति पक्राउ परेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !