एजेन्सी । युरोकप २०२० मा डेनिस खेलाडी क्रिस्टियन एरिक्सम मैदान ढलरेर बेहोस् भएको खेलमा फिनल्याण्डले भने डेब्यु प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको छ ।१६औं संस्करणअन्तर्गत शनिबार राति भएको समूह बी को खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले पराजित गरेको हो ।
डेनमार्को लागि कुनै कुरा आफ्नो पक्षमा रहेन । घरेलु मैदानमै खेलेको डेनमार्कको महत्वपूर्ण खेलाडी मैदानमै बेहोस् हुनु, पेनाल्टीमा गोल गर्न चुक्नु र खेल पनि गुमाउनु पर्यो ।पहिलो पटक युरोकप खेलिरेको फिनल्याण्डको लागि जोएल पोहनपालोले ५९औं मिनेटमा गोल गरेका थिए ।डेनमार्कले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । खेलको ७४औं मिनेटमा डेनमार्कका पिएरे एमिल होजवर्गको पेनाल्टी प्रहार फिनिस गोलकिपरले बचाए ।
पहिलो खेलमै जित हात पारेको फिनल्याण्डले ३ अंक जोड्दा सन् १९९२ को च्याम्पियन डेनमार्कले घरेलु मैदानमै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।डेनमार्को घरेलु मैदान कोपनहेगनमा भएको खेलको पहिलो हाफमा एउटा नराम्रो घटना हुँदा खेल एक घण्टा रोकिएको थियो ।४१औं मिनेटमा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन थ्रोबाट आएको बल लिने क्रममा बेहोस भएर मैदानमै ढलेपछि खेल रोकिएको थियो र युइएफएले तत्कालका लागि खेल स्थगित गरेको थियो ।
एरिक्सनलाई मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर हस्पिटल लगियो । उनको अवस्था स्थिर भएपछि दुवै टिमलाई खेल फेरि सुरु गर्न प्रस्ताव गरेको यूइएफएले जनाएको थियो ।
