पोखरा । गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेका छन् । आज थापा प्रदेश प्रमुख सीताकुमारी पौडेलको पोखरास्थित सरकारी निवास पुगेका हुन् ।उनले आफू राष्ट्रिय जनमोर्चाको गण्डकी संसदीय दलको नेता रहेको दाबी गर्दै आएका छन् । जनमोर्चाको सिफारिसमा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार उनी दोस्रोपटक पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।
उनले प्रदेश प्रमुखलाई आफ्नो दलको समर्थन विपक्षी गठबन्धनलाई नरहेको जानकारी गराउन सक्छन् । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि पनि गएको बिहीबार थापालाई पदमुक्त गरिएको थियो । तर, त्यसविरुद्ध सर्वोच्च पुगेका थापालाई सर्वोच्चले अन्तरिम आदेशसहित आइतबार पुनर्बहाली गरेको थियो ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए । संसदीय दलको ह्वीप उल्लंघन गरेपछि उनी शुक्रबार फेरि पदमुक्त भएका थिए ।
शनिबार थापाले प्रदेश प्रमुखलाई भेटेर निस्किएका छन् । थापाले आफ्नो कारबाहीबारे प्रदेश प्रमुखलाई जानकारी गराएको जनाएका छन् । उनीसँगै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !