दाङ । कुलो र पानीको विषयमा विवाद हुँदा तुलसीपुर–८ अश्वारामा गोली चलेको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ स्थित कुलोपानीका विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका हुन् ।
तर, उक्त गोली भने कसैलाई पनि नलागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । कुलोको विषयमा विवाद हुँदा तुलसीपुर–८ चन्द्रगन्ज निवासी वलीले पेस्तोल निकालेर गोली चलाएका थिए ।
उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिए । प्रहरीले फाइरिङ गरेको पेस्तोलसहित सात राउण्ड गोली नियन्त्रणमा लिएको छ । भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए ।एक राउण्ड गोली चलाएर मोटरसाइकलमा भागेका वलीलाई प्रहरीले तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।प्रहरीका अनुसार उनले कसलाई गोली हान्न खोजेको हो भन्ने खुल्न सकेको छैन । पक्राउ पर्ने अर्का ब्यक्ति मोटरसाइकल चालक स्थानीय २१ बर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !