काठमाडौं । सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा पनि सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ ।
विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ । यद्यपी सापकोटाले भने संसदीय मूल्य र कार्यकर्ताको मनोभावना विपरीत काम नगर्ने दावी गरेका छन् । सापकोटाले भन्नुभयो, “यहाँ संसदीय दल एउटै छ, दलको निर्णय नै मेरो पनि निर्णय हुन्छ, जुन जनचाहना हो ।”
उहाँले आफू कुनै निर्णायक नभएको भन्दै पदको लोलुप्तामा नलाग्ने बताउनुभयो । सापकोटाले भन्नुभयो, “मलाई मुख्यमन्त्रीसँग नजीक हुनु पनि छैन र संसदीय दलको निर्णय विपरीत जानु पनि छैन ।” सापकोटाले जनताको प्रतिनिधि भएकाले कम्युनिष्ट पार्टीबाट जितेको र सोही अनुसारको व्यवहार आफूले गर्नुपर्ने बताए । “म तटस्थ बस्दा वा राजीनामा दिँदा जनताको मतको के कदर होला वा मेरो राजनीतिक जीवनको के होला” सापकोटाले भने, “अन्त के गरे भन्ने होइन हाम्रोमा अवस्था के छ भन्ने कुरालाई मूल्याङ्कन गर्ने हो ।”
उनले वामपन्थी पृष्ठभूमिमै रहेर राजनीतिमा रहने प्रस्ट पारे । सापकोटाले विपक्षीलाई मतदान नगर्दा प्रदेशमा कसैको पनि बहुमतको सम्भावना छैन । तर उनले कर्णाली र सुदूरपश्चिम प्रदेशतिर जस्तै नेपाल पक्षको योजनाअनुरुप लागेको अवस्थामा भने एमाले सरकार ढल्नेछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार संसद्मा विश्वासको मत लिँदै छन् । नेपालको संविधान धारा ७६ ९३० अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बिहीबार विश्वासको मत लिन लागेका हुन्।
गण्डकी प्रदेशमा विपक्षी गठनबन्धनबाट अविश्वासको प्रस्ताव आउनुपूर्व मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएका थिए। त्यसपछि पुनः ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्तभएका गुरुङले विश्वासको मत लिनुपूर्व विकसित राजनीतिक घटनाक्रमले अहिले गण्डकी प्रदेश चर्चामा छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्देशन उल्लङ्घन गरेपछिको घटनाक्रम र सर्वोच्च अदालतले उनलाई थमौतीपछि गण्डकीको राजनीति तरङ्गित बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !