धरान । बेलायत युकेमा बसोबास गर्दै आएका दम्पती गंगा राई र देउकुमारी राईको व्यक्तिगत सहयोगमा धरान, चतरा र ताप्लेजुङको स्वास्थ्य केन्द्र लाई ११ थान अक्सिजन कनेक्टर प्रदान गरिएको छ । मंगलवार धरान उपमहानगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा मेयर तिलक राईले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोविड महामारीको दोश्रो लहरमा संक्रमीतहरुको अक्सिजन दिइने उपकरण नहुँदा अकालमा मृत्यु भैरहेको छ । यस्तो बेला दम्पतीको व्यक्तिगत सहयोगमा आफै अक्सिजन उत्पादन गरी संक्रमीतलाई पूनर्जीवन दिने उपकरण सहित स्वास्थ्य सामाग्री प्राप्त भएको धरान वडा १८ का अध्यक्ष प्रविण राईले बताए ।
मेयर राईले प्राप्त अक्सिजन कनेक्टरहरु मध्ये धरान उपमहानगरपालिका लाई २ सेट, धरान–१८ लाई ३ सेट, बराहक्षेत्र चतरा लाई ३ सेट र ताप्लेजुङको नाङखोल्याङ स्वास्थ्य चौकीलाई ३ सेट हस्तान्तरण गरेका हुन् । उक्त उपकरणहरुको कुल मुल्य २३ लाख ६५ हजार रुपया रहेको बताइएको छ ।
अक्सिजन कनेक्टरका साथै स्वास्थ्य सामाग्रीहरु पीपीई ५०० थान, सर्जिकल मास्क ५००० थान, सर्जिकल ग्लोब ५००० थान, केएनजी सिल्ड ५०० थान, फेस सिल्ड ५०० थान, पीआइपीएपी २ सेट, सीपीएपी २ सेट पनि चारै संस्थालाई बराबारी प्रदान गरिएको छ । उक्त सहयोग सामाग्रीमा काठमाण्डू बुढानिलकण्ठ स्थित बोधिसत्व विहारको तर्फबाट बुनु लिम्बुको पनि आर्थिक सहयोग रहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !