धनगढी । डाँका मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई ३८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०४० सालमा हातहतियार देखाएर नगद लुटपाट गरेर फरार भएका बेलौरी नगरपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार घरबाटै पक्राउ गरेको हो ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार लुहारले २०४० साल १० पुसमा बेलौरी नगरपालिकामा रहेको लारी डिस्टिलरीबाट अन्तःशुल्क वापतको सरकारी रकम पुनर्वास नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा साविक लक्ष्मीपुर र त्रिभुवन बस्ती गाविसको बीचमा पर्ने जंगलमा बन्दुक, बन्चरो लगायतका हतियार देखाएर लुटपाट गरेका थिए ।
