काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पुनः सुनुवाइ हुँदै छ । आज (आइतबार) गठन हुने संवैधानिक इजलासले नै उक्त मुद्दामा सुनुवाइ गर्ने बताइएको छ । यसअघि गठित संवैधानिक इजलासमाथि प्रश्न उठेपछि उक्त सुनुवाइ रोकिएको थियो । नेकपाको एकता खारेजीको फैसला गर्ने न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ उक्त इजलासमा बसेपछि हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले वरिष्ठताको आधारमा नै संवैधानिक इजलास पुनर्गठन गरेर सुनुवाइ अघि बढाउने बताउनुभएको थियो ।
संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन गर्ने सहमति भए पनि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकमा यसबारे छलफल समेत गरिएन । तर त्यस दिन वरिष्ठताकै आधारमा प्रन्या राणाले नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गर्नुभएको थियो ।
शुक्रबार पुनर्गठन गरिएको इजलासमा न्यायाधीशरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई वरिष्ठताका आधारमा राख्नुभएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित ५ जना रहने व्यवस्था छ । तर इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश विश्वम्भर श्रेष्ठ बस्न पाउने भए तापनि उहाँ अस्वस्थ रहेका कारण सट्टामा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको थियाे ।आज संवैधानिक इजलास पुनर्गठन हुन्छ या शुक्रबारको सोही इजलासले सुनुवाइ गर्छ भन्नेबारे केही खुलाइएको छैन । यसमा पनि अहिले कानुनविदहरूकाे चासाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !