काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।मन्त्रीपरिषद्को हिजो साँझ बसेको बैठकले दोलखाका पत्रकार बस्नेतलाई ४ बर्षका लागि प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । दोलखाको भीमेश्वर नगरपालिका ५ का बस्नेत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
दोलखाबाट पत्रकारिताको सुरुवात गरेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य बस्नेत हालै सम्पन्न महासंघको निर्वाचनमा महासचिव पदमा उम्मेदवार बनेपनि पराजित भएका थिए । महासंघको निर्वाचनमा पराजित भएको केही समयपछि उनलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो ।
पत्रकार बस्नेत नेकपा एमालेको ओली समूह निकट मानिन्छन् । चार बर्षअघि प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकालमा उनको नियुक्तिको योग्यता सम्बन्धि विवादलाई लिएर सर्वोच्च अदालतमा मुद्धा परेपछि यसबीचमा पत्रकारद्धय किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
पछिल्लो पटक प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरिएकी दुर्गा पौडेलका बिरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई ४ बर्षका लागि नियुक्त गरेको हो । बस्नेत खुल्ला नेपाल डटकमका सम्पादक पनि हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !