लहान । प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा ३ सय कार्टुन मदिरासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।पर्साको छिपहरमाई गाउँपालिका २ भिक्ष्वा बञ्जारी नाका हुँदै अवैध रुपमा लगिरहेको मदिरा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरलाई सोही स्थानको दशगजा क्षेत्रमा रोकेर चेकजाँच गर्दा कस्तुरी नामको ३०० कार्टुन मदिरा फेला पारेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीलाई देख्ने बितिक्कै ट्याक्टर चालक भने फरार भएको उनले बताए ।मदिरासहित ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । ट्याक्टर धनी तथा फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

