चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्लाको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालमाथि भूमाफियासँग सांठगाँठ गरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
ढकालले कर्मचारीलाई दबाब दिएर कीर्ते हस्ताक्षर गराई भूमाफिया सँगको मिलेमतोमा रकम लिएको प्रमाण फेला परेको दाबी गर्दै यस्तो आरोप लगाएको हो ।बिहीबार जिल्ला ईन्चार्ज रमाले जारी गरेको विज्ञप्तिमा माडी नगरपालिकाभित्र खेतीयोग्य जमिन खण्डिकरण गर्न नदिने नगरसभाबाट भएको निर्णय विपरित मेयरले १३१ कित्ता जमिन खण्डिकरण गर्न र पुरानो मितिमा कर्मचारीलाई हस्ताक्षर गर्न दबाब दिएको दाबी गरिएको छ ।
साथै मेयर पौडेलले हस्ताक्षर गर्न नमान्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाएको र केही वडाध्यक्षलाई साथ लिएर भूमाफियासँग रकम मागेको प्रमाण फेला परेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
पार्टीको धारणा सार्वजनिक गर्न जारी गरेको भनिएको उक्त विज्ञप्तिमा सयौँ बिगाहा जमिन खण्डिकरण गर्न मेयर ढकालले कर्मचारीलाई हस्ताक्षर गर्न दिएको दबाब तत्काल रोक्न अनुरोध गरिएको छ ।


















