काठमाडौं । विदेशमा रहेका नेपालीहरुबीच सामञ्जस्यता कायम गर्ने, एकीकृत गर्ने र सहयोग गर्ने उद्देश्यले स्थापित नेपाली गैर आवासीय संघ केही भ्रष्ट व्यक्तिहरुको कारणले गर्दा बद्नाम हुन पुगेको छ । विदेशमा रहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित गैर आवासीय संघकै भ्रष्ट नेताहरुका कारण नेपालीहरुबाटै ठगिएका नेपालीहरुले विदेशमा पनि आफुलाई सुरक्षित महसुस गर्दैनन् ।
केही महिना पहिले युरोपेली मुलुक पोर्चुगलका एनआरएनए कोषाध्यक्ष विक्रमजंग कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलबाट ११ नेपालीहरुको हवाईटिकट नक्कली बनाएको खुलेपछि उनीमाथि कारबाही गर्न पीडितहरुले हारगुहार गरेका थिए । उनले नक्कली टिकट विक्री गरेर अहिलेसम्म १५० जनाभन्दा बढी नेपालीलाई ठगेका छन् ।
यस्तै विवादमा परेका छन् एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी । उनले विभिन्न बहानामा जापानमा रहेका नेपालीहरुबाट रकम असुल्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । नेपालीहरुलाई सरसहयोग गर्ने जिम्मेवारी पाएको एनआरएनका नेृतत्वमा रहेका भण्डारीले सहयोगको नाममा दिवंगत शरीरमाथि पनि भ्रष्टाचार गर्ने गरेको आरोप पीडितहरुको छ । अस्पतालमा राखेको खर्च, जापानी रितिरिवाजमा लागेको खर्च, दिवंगत शरीर नेपाल ल्याउन लागेको खर्च दोब्बर तेब्बर लागेको भनि बीमा रकमबाट असुलेर पीडितलाई अझ पीडा दिने काम गरेको एक पीडितले बताए ।
जापानमा सडक दुर्घटनामा आफ्नो श्रीमती गुमाएका राम तामाङले आफ्नो श्रीमतीको नाममा आएको बीमा रकममा एनआरएनका हालका अध्यक्ष तथा निवर्तमान उपाध्यक्ष देवीलाल भण्डारीले अनियमितता गरेको आरोप लगाएका छन् । तामाङले आफ्नो श्रीमतीको अस्पताल खर्चदेखि लिएर दिवंगत शरीर नेपाल ल्याउनेसम्मको प्रक्रियामा भण्डारीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
तामाङले आफू ठगिएको महसुस भएपछि घटना छानबिन समिति (एनआरएनए) जापानमा निवेदन पनि दिएका छन् ।तामाङले भने, ‘भण्डारीले पार्थिव शरीर नेपाल ल्याउँदा ३५ लाख जापानी येन लागेको भनेपनि मलाई अहिलेसम्म बिल दिन आनाकानी गरेका छन् । सामान्यतया पार्थिव शरीर नेपाल ल्याउँदा १०/१५ लाख लाग्ने गर्छ । तर उनले ३५ लाख लागेको भनेका छन् र मलाई हिसाब पनि दिएका छैनन् । साथै उनले नेपाल आउने मेरो टिकटमा पनि अनियमितता गरेका छन् ।
त्यसैकारण मैले आफू ठगिएको महसुस गरेको छु ।’ केही वर्ष पहिले सडक दुर्घटनाकै आफ्नो दाइ हृदयेश जिसीलाई गुमाएका मोहन जिसीले पनि भण्डारीकाविरुद्ध छानबिन समितिमा निवेदन दर्ता गराएका थिए । जिसीले भण्डारीले विभिन्न बहानामा खर्च देखाएर बीमा रकमबाट पैसा असुलेको बताएका थिए । यस विषयमा एनआरएनए जापानका अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले यो सबै झुठा आरोप रहेको र आफुलाई बद्नाम गर्नका लागि केही तत्वहरु लागेको बताए । अहिले चुनावको माहोल रहेकाले र आफू एनआरएनए आईसीसीमा उम्मेद्वार बन्न लागेकाले राजनीतिकरण गर्न र मलाई बद्नाम गराउन षड्यन्त्र रचिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !