काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ ।
कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको खबर आर्थिक अभियान दैनिकमा छ ।
यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनकारी दिएको छ ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कोरोना महामारीका कारण मल उत्पादनका लागि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको, मजदूर अभावका कारण कारखानाहरूको उत्पादन घटेको र जहाजमा समेत मजदूरहरूको अभाव भइरहेकाले मलको मूल्य बढेको हुनसक्ने बताए ।
विगत ५ महिनादेखि मलको मूल्य बढिरहेकाले सरकारले मल किन्नका लागि छुट्ट्याउँदै आएको बजेट अपुग हुने भएको छ । अनुदानको मल किन्न सरकारले चालू आर्थिक वर्षका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन गर्ने सरकारको लक्ष्य रहेको छ ।
‘नेपालमा करीब ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने भए पनि अहिलेको बजेटले ५ लाख मेट्रिक टन खरीद गर्न पुग्छ । बजेट थप नभएमा बढेको मूल्यअनुसार मल किन्दा अहिलेको बजेटले २ लाख ७५ हजार मेट्रिक टन मात्र किन्न पुग्ने छ,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !