काठमाडौँ । यतिखेर वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले सामाजिक सञ्जालमा भाइरल भएका छन् । चीन सरकारबाट अनुदानमा आएका अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनी भाइरल भएका हुन्
मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टरमार्फत गृहजिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका छन् । जिल्ला अस्पताल डोटीमा र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका हुन् । मन्त्रीबाट ढिलै भए पनि सहयोग उपलब्ध हुनु स्वागतयोग्य काम भए पनि यसरी विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट काम रहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीअंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गाली गरिरहेका हुन् ।स्रोतका अनुसार चीनबाट अनुदान आएका सिलिन्डर र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत मन्त्री आलेले ती अस्पतालका लागि भनेर लिएका थिए । तर केही सिलिन्डर भने आफ्नै व्यक्तिगत खर्चमा किनिएको मन्त्री आलेले बताएका छन् । तर उनले सबै सिलिन्डर तथा औषधिका प्याकेटमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ भनेर बाँडेका छन् ।मन्त्री आलेले १५ वटा सिलिन्डर स्वास्थ्य विभागले दिएको र बाँकी चीनबाट मगाएर सेवा गरेको बताएका छन् । तर कतिपयले सरकारकै बजेटबाट ती सामग्री किनिएको हुनसक्ने र मन्त्रीले सस्तो लोकप्रियताका लागि आफ्नो व्यक्तिगत भन्दै प्रचार गरेको टिप्पणी गरेका छन् ।

















