धरान । सरकारले कोरोना महामारी रोकथामका लागि गठन गरेको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको कार्यकारी प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सरकारले सिसिएमसीको संरचनालाई पुनर्गठन गर्दै शर्मालाई कार्यकारी नियुक्त गरेको हो ।
पुनर्गठित सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ । कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ । यसलाई आपातकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार सरकारले दिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेश मार्फत् सिसिएमसीको पुनर्गठन गरेको सेतोपाटीको समाचारमा उल्लेख छ ।
सोही आध्यादेश अनुसार सरकारको गृह मन्त्रालयले ७७ वटै जिल्ला स्थित जिल्ला प्रशासन लाई आध्यादेशमा उल्लेखित निषेधाज्ञा–जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई कडाइका साथ लागु गर्न परिपत्र गरेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारको अध्यक्षतामा जिल्ला कोविड व्यवस्थापन समिति रहेको छ । गृहले सिसिएमसीको नयाँ कोरोना महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रतिकार्य योजना कार्यान्वयन गर्न परिपत्र गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !