काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले ले पार्टीका कुनै पनि सदस्य ओली सरकारमा सहभागी भएमा पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ ।आइतबार पार्टीका प्रचारप्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा प्रतिगमनकारी ओली सरकारमा सहभागी हुने कुनै पनि सदस्यलाई पार्टीबाट स्वतः निष्कासन हुने प्रष्ट पारिएको भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकारी ओली सरकारमा कुनै पनि सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।’पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरीत महन्थ ठाकुर पक्षहरु हिँडेको स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ ।
पार्टीको हितपरीत कार्य गर्दै गराउँदै हिँड्ने नेताहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । उनीहरुलाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।यसैगरी बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्नेलगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत विज्ञप्तिमार्फत भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !