काठमाडौं । प्रधानमन्त्री नियुक्तीको विकल्प रहँदा रहँदै संसद विघटन गर्न नमिल्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभएको छ ।
शनिबार वक्तव्य जारी गर्दै संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक रहेको उहाँले बताउनुभएको हो ।
शनिबार सभामुख सपकोटाद्वारा जारी वक्तव्यमा संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरीत रहेको भनिएको छ । वक्तव्यमा भनिएको छ, ‘फैसलामा’ अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’
राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी गरिएको विज्ञप्ति नेपालको संविधान, राजनीतिक दलअनुरुप नदेखिएको पनि उहाँले बताउनुभएको छ । वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !