काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।
बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको पनि उनले बताएका छन् । ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको छ,’ कर्णले भने, ‘जानकारी त सबैलाई गरिएको छ तर हुन्छौं होला १८-१९ जना ।’
पछिल्लो समय ठाकुर-महतो समूहमा बहुमत सांसद रहेको दाबी गरिएको छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।
तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातारात प्रतिनिधिसभा समाप्त पार्न राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक कदम उठाएको बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर अडिग रहे उनी प्रधानमन्त्री बन्ने सम्भावना जीवित रहेको यादवको भनाइ छ । ‘ठाकुरजी आफैं अरू कसैको पछि नलागी अडिन सक्नुपर्यो । सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि शुक्रबार हामी छलफल गर्छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !