काठमाडौं । बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउनका लागि एमालेका बरिष्ठ नेता माधव नेपाल सहमत भएको समाचार आए । माधव नेपाललाई भेट्न बादल उनको निवास कोटेश्वर गएका थिए । त्यो भेटघाटमा माधव नेपालले बादललाई सहयोग गर्ने कुरा गरेको प्रचार भयो ।
तर वास्तवमा माधव नेपालले बादललाई सहयोग गर्ने कुरा भेटमा नगरेको उनको सचिवालयले प्रष्ट पारेको छ ।
बरिष्ठ नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको प्रेसनोटमा उल्लेख छ–‘कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।
त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाले नेकपा एमालेका खिमलाल देवकोटालाई साझा उम्मेदवारका रुपमा अगाडि सारेका छन् । माधव नेपाल निकट उनलाई साझा उम्मेदवार बनाउन कांग्रेस, जसपा र माओवादी सहमत भएका थिए ।
तर, एमालेमा माधव नेपालसहितका नेताहरुको कारबाही फिर्ता र पार्टी २ जेठ, २०७५ मा फर्किनेबारेमा वार्ता भएपछि बादल आफूलाई जिताउनका लागि सहयोग माग्न मंगलबार बिहान नेपाल निवास गएका थिए । बागमती प्रदेशका लागि हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !