काठमाडौँ। नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले नेपालमा राजसंस्था कसरी फर्काउने भन्ने अन्यौल रहेको बताएका छन्। सिंहले नेपाली नेताहरुमा बन्द कोठामा जे पनि सहमति गरिहाल्ने तर बाहिर आएर सहमति लत्याउने बानी परेकोले त्यसको प्रत्यक्ष असर विस्थापित महाराजधीराज ज्ञानेन्द्र शाहले भोगेको बताएका हुन्।
शाहले नेपाल र भारतका नेताहरुले कोठा भित्र गरेको सहमति उनीहरुले बाहिर पनि पालना गर्छन भन्ने विश्वास लिनु नै ठूलो भूल भएको सिंहले बताए।राजसंस्था फर्काउने बारे भित्रीरुपमा बहस र तयारी भएपनि कसरी फर्काउने भन्ने अन्यौल कायम नै रहेकोले अहिले नै गणतन्त्र नढल्ने बताउदै सिंहले भने, ‘राजसंस्थालाई कसरि र कुन माध्यमबाट फर्काउने? त्यसको अन्यौल छ। त्यसैले पनि अहिले नै गणतन्त्रको विकल्प राजतन्त्र फर्किन्छ जस्तो लाग्दैन।
अर्को कुरा राजनीतिक दलहरुमा कसले राजालाई बोक्ने? कोही तयार नै छैन। नेपाली नेताहरुमा यस्तो गुण भनौ कि अवगुण छ कि उनीहरु कोठा भित्र जस्तो पनि सहमति गर्छन बाहिर निस्केपछि त्यो सहमति पुरा गर्दैनन्। त्यतिबेला पनि त्यही भएको हो।’सिंहले भारत संघियता र धर्म निरपेक्षताको खारेजीको पक्षमा भए पनि राजसंस्था पुनस्थापनाको पक्षमा नरहेको आफूले अनुभव गरेको बताए। उनले धर्म निरपेक्षता र संघियताबारे नेपाली जनतामा पनि अपनत्व नरहेको र छिमेकीहरुलाई पनि मन नपरेको हुनाले यी खारेज हुने बाटोमा रहेको दाबी गरे।
तर राजालाई कसरी ल्याउने भन्ने कुरा जटिल रहेकोले गणतन्त्र ढल्ने स्थिति नरहेको उनको तर्क छ।सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएको दिनबाट हप्ता दश दिन भित्र संसद विघटन गर्ने पनि बताए। उनले भने, ‘ओली प्रधानमन्त्री भए लगत्तै संसद अधिवेशन बोलाएर विश्वासको मत फेरी लिने छन्। ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान भएकोले उनले एक दुई दिनमै लिनेछन्। त्यसमा पनि उनको विश्वासको मत आउने सम्भावना नभएपछि अन्ततः उनले संसद विघटन गर्ने छन्। त्यो हप्ता दश दिन भित्र हुने छ।’
सिंहले जसपाको महन्थ-राजेन्द्र पक्षले मधेशको मुद्धाको कुरा गरे पनि उनीहरुको मुलभूत उद्देश्य संसद विघटन गरेर छिटो भन्दा छिटो चुनाव गर्नु भएको बताए। उनले भने, ‘उहाँहरुको निशान मधेश मुद्धा हो तर निगाह कता लगाउनु भएको छ भने संसद विघटन गरेर चुनाब गर्ने तर्फ। त्यसको लागि ओली सरकार जोगाइदिने।’सिंहले प्रधानमन्त्री ओलीले चुनावको मिति घोषणा गरेपनि तोकिएकै मितिमा चुनाव हुने सम्भावना न्यून रहेको बताए। उनले सम्पूर्ण संवैधानिक अंगहरु कब्जा गरिसकेकोले उनको नेतृत्वमा निष्पक्ष चुनाव हुने सम्भावना न्यून रहेकोले विपक्षी दल चुनावको लागि तयार नहुने अड्कल गरे।
‘ चुनाव घोषणा त जसले पनि गर्छ नि। बाबुराम भट्टराईले गरेको होइन? सबै संवैधानीक अंग कब्जा गरिसक्यो ओलीले। कसरी कांग्रेस, माओवादी, जसपा लगायतका दल चुनावको लागि तयार हुन्छन्?,’ उनले भने।सिंहले फेरि खिलराज मोडेलमा स्वतन्त्र व्यक्तिले निर्वाचन गराउने स्थिति तर्फ देश अघि बढी रहेको बताए। ‘हेर्नुहोस्, हाउस फंगसन गर्न सकिरहेको छैन। देश बंगलादेश मोडेल भन्नुहोस् या खिलराज मोडेल भन्नुहोस् त्यतै तिर जाँदै छ,’ उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !