रघुनाथ बजगाईं / काठमाडौँ । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमतिको प्रयत्न अगाडि बढेको छ । बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच लामो सम्वाद भएपछि एमाले मिल्ने बाटोतिर उन्मुख देखिएको छ । प्रतिनिधिसभा सदस्यहरुको सामूहिक राजीनामा दिने तयारीमा रहेका नेपाल समूह एकाएक यूटर्न भएपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । ओली र नेपाल समूहबीच वार्ता अगाडि बढेको छ ।
ओली र नेपालबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भइरहँदा ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ । किनभने, वागमती प्रदेशमा हुने उपनिर्वाचनमा एमालेकै दुई उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएका छन् भने नेता नेपालका तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समर्थन पाएका देवकोटा कलम चिह्नबाट प्रतिस्पर्धामा छन् ।एमाले विभाजन उन्मुख हुँदा विपक्षी दलहरुको साझा उम्मेदवार बनेका देवकोटा मात्रै होइन, मतदाता पनि अलमलमा परेका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्छन् । ‘पार्टी एकताको विषयमा केन्द्रमा छलफल जारी छ । एक/दुई दिनमा थप प्रष्टता आउँछ । यही बीचमा उपनिर्वाचनको विषयमा पनि छलफल हुन्छ’, नेता नेपाल निकट वागमती प्रदेशसभा सदस्य अरुण नेपाल भन्छन् ।
उनी डा. देवकोटा आफ्नो उम्मेदवार भएको बताउँछन् । अर्का वागमती प्रदेशसभा सदस्य मुनु सिग्देल कसलाई मतदान गर्ने भन्ने निर्णय केन्द्रबाटै आउनुपर्ने बताउँछिन् ।
नेता नेपाल निकट सिग्देल भन्छिन्, ‘केन्द्रमा छलफल गरिरहनुभएको छ । चुनाव आउन केही दिन बाँकी छ । पार्टी विवाद समाधान गर्नेगरी सहमति भए कसलाई भोट दिने भनेर केन्द्रबाटै निर्देशन आउँछ ।’
एमाले अध्यक्ष ओली इतर गठबन्धनबाट उम्मेदवारी दिएका देवकोटाले भने पछाडि नहट्ने अडानमा छन् । ‘निष्ठा र इमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ओली र नेपालबीच सम्बन्ध सुधार उन्मुख हुँदा कांग्रेस, माओवादीलगायत दललाई पनि अप्ठ्यारो परेको छ । किनभने माधव नेपाललाई विश्वास गरेर माओवादीको प्रस्ताव र कांग्रेसको समर्थनमा देवकोटाले उम्मेदवारी दिएका थिए ।
‘देवकोटा माधव नेपाल पक्षको उम्मेदवार हो । हामी, माओवादी र जसपाले समर्थन गरेको छ । अब एमाले पार्टी विवाद मिलाउँदा माधव नेपाल पक्षले जसलाई भोट हाल्छ उसैले चुनाव जित्ने भयो’, कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारी भन्छन् ।
उपनिर्वाचनमा वागमती प्रदेशका ११० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २३८ जनाले मतदान गर्दैछन् ।
- के होला लुम्बिनीमा ?
वाग्मतीमा जस्तै लुम्बिनीमा पनि १७ जेठमा राष्ट्रियसभाको उपचुनाव हुँदैछ । उपनिर्वाचनको कार्यतालिका स्वीकृत भए पनि उम्मेदवारी परिसकेको छैन ।
यदि एमाले मिलेमा यहाँ पनि माधव समूहले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने छैनन् । जबकि कांग्रेस, माओवादी, जसपा र माधव समूहले दृगप्रसाद पाण्डेलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय गरिसकेका थिए । एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र छोड्दा पदमुक्त भएका चन्द्रबहादुर खड्कालाई अघि सार्ने सम्भावना छ ।
निर्वाचन आयोगले ७९ प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहने नामावली सार्वजनिक गरेको छ । लुम्बिनीमा आठ जना प्रदेश सदस्य र स्थानीय तहका एक जनाको पद रिक्त छ ।अनलाईनखबरबाट
