काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ। ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८ सय ५ खाली सिलिण्डर छन्।
संकलन गरिएका सिलिण्डरमध्ये ५ हजार २ सय ९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।बाँकी रहेका १ हजार ३ सय ६६ अक्सिजन सिलिण्डरहरू जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीले जनाएको छ।कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति, संघ-संस्था, उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिण्डर नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरीले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार सिलिण्डर वितरण गरिएको छ।
स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !