काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकालाई लिएर अहिले धेरै हदसम्म सकारात्मक टिप्पणी भइरहेका छन्।
यसभन्दा अघि सत्ता र प्रधानमन्त्री हुन जे पनि गर्न सक्ने पात्रको रुपमा बदनाम देउवाले आफू माथि लागेको कलंक यसपाली पखालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै नयाँ सरकार बन्नको लागि मार्ग प्रसस्त भएको थियो। धेरैले आंकलन गरेका थिए कि सत्ताका माहिर खेलाडी देउवाले फेरी पनि आफ्नो ५० को दशकको रुप देखाउने छन्। र, ज्योतिषीको भविष्यवाणीलाई सार्थक तुल्याउदै फेरी प्रधानमन्त्री बन्ने छन्।
-
माहोल त ५० को दशकको जस्तै थियो तर यसपाली देउवा फेरिएका थिए।
जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउन सकिने स्थिति थियो। चाहे भए देउवाले नसक्ने कुरा थिएन तर उनले त्यसो गर्न चाहेनन्।
त्यति मात्र होइन सत्ता गठबन्धन जोगाउनको लागि नै सत्तारुढ दल एमालेको केपी समूहले विभिन्न प्रदेशहरुमा त्यस्तै किसिमका हत्कण्डा मच्चाइ रहेको थियो। चाहे त्यो लुम्बिनीमा जसपाका सांसदलाई प्रलोभनमा पारेर हुन्छ कि गण्डकीका जनमोर्चाका सांसदलाई प्रभावित पारेर हुन्छ, सत्ताको लागि घृणित खेल चलिरहेको नै थियो।
यस्तै खेल धेरैले देउवाबाट पनि आश गरेका थिए। किनकी देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता घटना दर्ज छन्।
तर देउवाले ५० को कालखण्डलाई दोहोरिन दिएनन्। प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फर्किन नदिएर देउवाले कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्छ भन्ने किसिमको सन्देश दिए।
त्यसो त देउवा यति थोरै सिट संख्या सहित प्रधानमन्त्री हुन पहिले देखि नै चाहेका थिएनन्। उनि छिटो भन्दा छिटो चुनावमा नै जानु पर्ने बताउँदै आइरहेका थिए। तर कांग्रेस भित्रको रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापा लगायतका केही युवा नेताहरुको दबाबले प्रधानमन्त्री हुने रेसमा सहभागी भएका थिए।
यसपाली पार लाग्दैन भन्ने थाहा हुँदा हुँदै पनि देउवाले पार्टी एकताको लागि प्रधानमन्त्रीको लागि अघि सरे। देउवाले खुट्टा मात्र टेके भने प्रधानमन्त्री बनाइदिन्छौ भन्ने पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री त बनाउन सकेनन् तर अन्तिममा ‘जोक्कर’ भने बनाए। धन्न देउवाले अवाञ्छित तरिकाहरु अपनाएनन् र कांग्रेसको शाख जोगियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !