काठमाडौं । कांग्रेसका सांसद तथा पूर्व स्वास्थ तथा जनसंख्या मन्त्री गगनकुमार थापा जनपक्षीय कामका कारण पटक–पटक चर्चामा आउँछन् । संसदको कामकारवाहीमा सक्रिय भूमिका होस् वा आफ्ना मतदाताको सेवामा थापा उदाहरणीय सांसद हुन् ।कोरोना भाइरस संक्रमणको महामारीका बेला समेत सांसद थापाले उदाहरणीय काम गर्दै देशभरका सांसदले सिक्नुपर्ने काम गरेका छन् ।
देशका कतिपय ठाउँमा कोरोना संक्रमितले सामान्य परामर्श समेत नपाएर अकालमै ज्यान गुमाउनुपरिरहेको अवस्थामा सांसद थापाले व्यक्तिगत पहलमा संक्रमितलाई लक्षित गरी ‘होम आइसोलेसन सेवा’ सञ्चालन गरेका छन् । सांसद थापा निर्वाचित काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रका जनताले यो सेवाबाट लाभ लिन सक्नेछन् । कोरोना भएर घरमै आइसोलेसनमा बसेका संक्रमितका लागि शुक्रवारबाट सेवा सुरु गरिएको छ ।
‘हेल्थ एट होम’सँगको सहकार्यमा प्रतिनिधिसभा सांसदको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले सेवा सुरु गरेको सांसद थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
पूर्वमन्त्री थापाको कार्यालयमार्फत सम्पर्कमा आएका होम आइसोलेसनमा रहेका व्यक्तिलाई ‘हेल्थ एट होम’ टीमले आवश्यक चिकित्सकीय परामर्श दिने जनाइएको छ । आइसोलेसनको अवधिभर आवश्यक परामर्श दिनुका साथै स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने सांसद थापाले घोषणा गरेका छन् ।
संक्रमण भई होम आइसोलेसनमा रहेकाले व्यक्तिले सेवा लिनका लागि सांसदको कार्यालयले उपलब्ध गराएका मोबाइल नम्बरमा एसएमएस गर्नुपर्नेछ, लगत्तै सांसदको कार्यालयबाट टेलिफोन गरेर आवश्यक सेवा, परामर्श, स्वास्थ्य सामग्री उपलब्ध गराइने सांसद थापाले जानकारी दिए । सेवाग्राहीले ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना (वडा र टोल खुल्ने गरी) एसएमएस गर्नुपर्ने र प्राप्त एसएमएसका आधारमा ‘हेल्थ एट होम’का सदस्यले होम आइसोलेसनमा रहेकालाई सम्पर्क गर्ने जनाइएको छ । ‘घरमा आइसोलेसनमा रहेकाहरूलाई उपयुक्त सल्लाह र परामर्श पाएमा अस्पताल जान पर्नेहरूका लागि समयमा सुचित गर्न सकिन्छ,’ सांसद थापाले भनेका छन्, ‘अस्पताल जानु नपर्नेका लागि आवश्यक परामर्शले अस्पतालको चाप घटाउन सहयोग पुग्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !