काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक आयोगहरुमा थप नियुक्तिका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
अध्यादेशमा दुई जनाले पनि नियुक्तिको सिफारिस गर्न सक्ने प्रावधान छ ।प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने कानुनी प्रावधानलाई संशोधन गर्नेगरी अध्यादेश ल्याइएको हो ।
यसअघि अध्यक्षबाहेक ४ जना सदस्य उपस्थित हुँदा मात्र संवैधानिक परिषद् बैठक बस्नसक्ने कानुनी व्यवस्था थियो । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग लगायत निकायका पदाधिकारी नियुक्तिको निर्णय गर्ने सम्भावना छ । हाल लोक सेवा आयोगमा सबै पदाधिकारी रिक्त छ ।
आयोगका तत्कालीन अध्यक्ष उमेश मैनाली तथा सदस्यहरू वृन्द्रा हाडा, अशोककुमार झा, ब्रह्मदेव राय र कृष्णचन्द्र झालगायत पदाधिकारीको कार्यकाल सकिएपछि पदाधिकारी नियुक्त हुन सकेको छैन । यस्तै, अख्तियारमा पनि दुई आयुक्त पद रिक्त छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !