काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले आज बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले उक्त आदेश दिएको हो ।
बस्न्यातले आफूलाई कोरोना संक्रमण भई अस्पतालमा भर्ना रहेको र मुटुको रोगीसमेत भएकाले धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने माग राखी निवेदन दिएका थिए । बस्न्यातले १७ वैशाखमा छोरी ज्वाईं प्रज्वल अधिकारीमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका हुन् । अधिकारीले निवेदनसँगै बस्न्यातको कोभिड–१९ संक्रमण पुष्टि भएको प्रमाण पत्र समेत पेश गरेका थिए । बस्न्यात अहिले ओम अस्पतालमा उपचाररत छन् ।
२०७७ मंसिर २८ मा विशेष अदालतले बस्न्यातलाई ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको थियो ।
अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले पूर्व उप–प्रधानमन्त्रीसहित तीन मन्त्री, तीन पूर्वसचिव, पाँच सहसचिव र ६ उपसचिव विरुद्ध १० अर्ब १४ करोड ३४ लाखभन्दा बढी बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !