काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग सहमति भएको भन्ने हल्लाबारे मुख खोलेका छन् । उनले ओलीसंग कुनैपनि सहमति नभएको बताएका छन् ।विहीबारदेखि भइरहेका बाक्लो संवादबारे सञ्चार माध्यममा विभिन्न प्रकारका खबरहरु आएपछि उनले विज्ञप्ति नै जारी गरेर सहमति नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन भएको भन्दै त्यसबाहिर कुनै सहमति नहुने बताएका छन् ।
सन्देशमा उनले अहिलेसम्म कुनै पनि सहमति नभए पनि वार्तामा आफ्नो पक्ष लचक भएर प्रस्तुत भइरहेको जानकारी दिएका छन् । नेपालको फेसबुक पेजबाट जारी संक्षिप्त विज्ञप्तिमा २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको स्पष्ट पारिएको छ ।
‘हामी वार्ता र लचकता दुवै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
-
यस्तो छ नेता नेपालको विज्ञप्ति
हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।
२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।
फेसबुकबाट तपाईको प्रतिक्रिया !