कैलाली। नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लहरसँगै आएको महामारीले कैयौँ मानिसहरुको ज्यान गइसेको छ। लाखौँ मानिसहरु संक्रमित छन् भने हजारौँ हजार संक्रमितहरु अस्पतालमा उपचारत रहेका छन्।कोरोना भाइरसको बिरामीको संख्या दिनहुँ बढ्दै गएपछि कोरोना बिरामीको उपचारमा प्रयोग हुने मेडिकल अक्सिजनको हाहाकार हुन थालेको छ। कतिपय अस्पतालहरुमा बिरामीलाई बेड छैन त बेड भएकाहरुमा अक्सिजन छैन।
सरकारले महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकालगायत देशका प्रमुख शहरहरुमा निषेधाज्ञा लागू गरेको छ। कोरोना बिरामीलाई उपचारमा चाहिने अक्सिजनको अभाव हुन नदिन आगामी हप्ता चीनबाट २० हजार सिलिण्डर समेत मगाएको छ।
तर, यस विषम परिस्थितिमा पनि केही व्यापारीहरुले भने मेडिकल अक्सिजनलाई कालोबजारी गर्ने हेतुले लुकाएर राखेको पाइएको छ।सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुकाएको चर्चा चलेपछि छापा मार्दा ६० वटा सिलिन्डर भेटिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली, प्रहरी र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा छापा मारेका थिए । बस्नेतले अन्य सिलिन्डर पनि लुकाएरै राखेको अनुमान गरिएको छ । ‘खरिद–बिक्रीका सबै कागजात तीन दिनभित्र पेस गर्न बस्नेतलाई भनेका छौं,’ वाणिज्य कार्यालयका प्रमुख कमल पुनले भने ।
बस्नेतले आफू सुदूरपश्चिममा मेडिकल क्षेत्रको ठूलो आपूर्तिकर्ता भएकाले अक्सिजन सिलिन्डर मौज्दात हुनु स्वाभाविक भएको बताए । ‘मकहाँ नभए कोसँग हुन्छ त ?’ उनले भने। बस्नेतले आफू व्यापारी भएकाले खरिद–बिक्री गर्ने अधिकार रहेको बताए ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सार्वजनिक सूचना जारी गरेर अक्सिजनका लागि विभिन्न निकायसँग हारगुहार गरिरहेको छ । निजी क्षेत्रबाट सञ्चालित ठूला अस्पतालहरू नवजीवन, मायामेट्रो र निसर्ग अस्पतालले पनि अक्सिजन नपाएर बिरामीको ज्यान बचाउन कठिन हुँदै गएको भन्दै सहयोगको याचना गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !