काठमाडौं । कोरोना भाइरसको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । संक्रमितहरु लाई अक्सिजनकाे समेत अभाव हुन थालेकाे छ ।
कोरोना संक्रमितकाे उपचारका लागि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुकुम पश्चिमका संघिय सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्ला अस्पताल रुकुम (पश्चिम) मा २९ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ ।
उपलव्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिन आफु लागिरहेको र चाँडै थप सिलिन्डर जोहो गर्ने शर्माले जानकारी दिनुभयो । यसैबिच शर्माकै पहलमा रुकुम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुँदैछ । अक्सिजन प्लान्ट जडान गर्न प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमताको मेसिन अस्पतालमा लगिएको छ ।
बायोमेडिकल इन्जिनियर सौभर सिजापतीका अनुसार पाइप लाइनको काम बाँकी छ, केही दिनमै मुख्य लाइनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइप जडानको काम हुने छ ।लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन प्लान्टको माग बढेको हो । जिल्ला समन्वय समितिले अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि अक्सिजन प्लान्ट जडान गर्न पहल थालेको छ ।

















