काठमाडौं । एक साताको अवधिमा भारतीय राज्य पञ्जाबको मोहाली जिल्लामा ३५ किलो भन्दा बढी अफिमसहित ६ नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा १४ वर्षीय बालकदेखि ३ महिलासमेत रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गत बुधबार २१ वर्षीय अमृत पुन, २१ वर्षकै शक्ति वली र ३४ वर्षीया कमला बराईलाई भारतीय प्रहरीले साढे १६ किलो अफिमसहित मोहालीबाट पक्राउ गरेको थियो।इन्डियन एक्सप्रेसले मोहाली प्रहरीका एसएसपी सतिन्दर सिंहलाई उद्धृत गर्दै लेखेको छ, ‘अमृतको झोलाबाट ५.२ किलो, शक्तिबाट पनि ५.२ किलो र कमलाको झोलाबाट ३.१९७ किलो अफिम बरामद भएको छ।’
क्रिमिनल इन्भेस्टिगेशन एजेन्सी (सीआइए) र जिल्ला प्रहरीको संयुक्त कारबाहीमा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुलाई लालरुस्थित अम्बाला–चन्डिगढ हाइवेबाट पक्राउ गरिएको हो। गस्तीमा निस्किएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको झोलाबाट उक्त अफिम बरादम भएको भारतीय प्रहरीको भनाइ छ।पक्राउ परेकाहरुमध्ये अमृत भारतकै रोहडुमा मजदुरीको काम गर्छन्। त्यस्तै शक्ति सिम्लामा मजदुरीको काम गर्छन् भने कमला गृहिणीको काम गर्छिन्। उनका श्रीमान भने साउदी अरबमा रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
उनीहरुले नेपालमा अफिम किनेर भारत ल्याइ पन्जाब र चण्डीगढका आफ्ना ग्राहकलाई बेच्ने गरेको भारतीय प्रहरीको दाबी छ।
त्यसैगरी २ किलो अफिमसहित सुनिल नाम गरेका १४ वर्षीय नेपाली बालक पनि पक्राउ परेका छन्। उनलाई लालरुकै रभिदास भवन नजिकबाट पक्राउ गरिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। ती नेपाली बालकको गत वर्षमात्रै बाबुको मृत्यु भएको र उनी आमासँगै सिम्लामा बस्दै आएको उल्लेख गरिएको छ। त्यसैगरी गत मंगलबार लक्ष्मी र लिला बुद्ध नाम गरेका दुई महिला ११ किलो अफिमसहित लालरुबाटै पक्राउ परेका छन्।
उनीहरु पनि अफिम पुर्याउनकै लागि सिम्लासम्मको यात्रामा निस्किएको प्रहरीको दाबी छ।
यी दुई महिलाले दिल्लीमै एक नेपाली पुरुषलाई भेट गरेको र अफिमको पार्सल सिम्लासम्म पुर्याउन भन्दै केही रकम दिएर उनीहरुलाई प्रयोग गरिएको समाचारमा उल्लेख गरिएको छ। उक्त अफिम नेपालबाटै भारत छिरेको भारतीय प्रहरीको दाबी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !